Production Detail

Yogmaya (योगमाया)

योगमाया : विद्रोह, चेतना र परिवर्तनको आवाज योगमाया न्यौपाने नेपाली समाजको इतिहासमा सामाजिक विद्रोह र सुधारको साहसिक आवाजका रुपमा स्मरण गरिने व्यक्तित्व हुनुहुन्छ। भोजपुरमा जन्मनुभएकी उहाँले तत्कालीन समाजमा विद्यमान जातीय विभेद, लैङ्गिक असमानता, धार्मिक अन्धविश्वास, सामाजिक कुरीति तथा राज्यसत्ताको अन्यायविरुद्ध आवाज उठाउनुभएको थियो। न्याय, समानता र मानवीय मर्यादामा आधारित समाज निर्माणको परिकल्पनासहित उहाँले सञ्चालन गर्नुभएको संघर्ष नेपाली इतिहासको महत्वपूर्ण अध्याय हो। 'योगमाया' नाटकले उहाँको जीवन, संघर्ष र विद्रोही चेतनालाई रंगमञ्चमा प्रस्तुत गर्दै तत्कालीन सामाजिक तथा राजनीतिक परिवेशका प्रश्नहरुलाई आजको समाजसँग जोड्ने प्रयास गरेको छ। उहाँले उठाउनुभएका न्याय, समानता र परिवर्तनका आवाज आज पनि उत्तिकै सान्दर्भिक छन्। यो नाटक विगतको इतिहास स्मरण गर्ने मात्र नभई वर्तमान समाजलाई प्रश्न गर्ने र सामाजिक रुपान्तरणका लागि संवाद सिर्जना गर्ने रंगमञ्चीय प्रयास हो।

01

Synopsis

आजभन्दा सय वर्षअघि नै विभेदरहित समाज, भ्रष्टाचारमुक्त शासन व्यवस्था, शिक्षामा समान अवसर, सामाजिक न्याय र उत्तरदायी शासन प्रणालीको सपना देखेकी थिइन् योगमायाले। समाजमा व्याप्त अन्याय, अत्याचार, छुवाछूत र विभेदको अन्त्य होस् भन्ने उनको चाहना थियो। तर आज पनि छुवाछूत र जातीय विभेदका अमानवीय घटनाहरु व्याप्त छन्। साहुको ऋण र ब्याज तिर्न नसकेर घरजग्गा लिलाम भएका घटना देखिरहेका छौं। बाँच्ने आधार गुमाएर आत्मदाह गर्न विवश भएका मानिसका दुःखद खबर सुनिरहेका छौं। न्यायपूर्ण समाज र उत्तरदायी शासन व्यवस्थाको अपेक्षा आज पनि उस्तै छ। समय बदलियो, व्यवस्था बदलियो, केही परिवर्तन पनि भए। तर योगमायाले उठाएका धेरै प्रश्न अझै सम्बोधन हुन सकेका छैनन्। समस्याहरु ज्यूँका त्यूँ छन्। त्यसैले त साहित्य र कलाका माध्यमबाट यी विषयमा समाज र राज्यको ध्यानाकर्षण गराइरहनुपरेको छ। 2076 सालको जेठ-असारमा मेरो उपन्यास योगमायामा आधारित नाटक चौलागाईंको परिकल्पना तथा निर्देशनमा काठमाडौंको शिल्पी थिएटरमा मञ्चन भएको थियो। अहिले फेरि उहाँकै परिकल्पना तथा निर्देशनमा पोखराको गन्धर्व थिएटरमा योगमाया मञ्चन हुँदै छ। योगमायाको सङ्घर्ष र उनले उठाएका सवालहरु नाटकका माध्यमबाट फेरि दर्शकमाझ पुग्दै छन्।यस अवसरमा टङ्कजी लगायत नाटकसँग जोडिनुभएका सम्पूर्ण कलाकार, प्राविधिक तथा आयोजक टोलीलाई हार्दिक बधाई र सफलताको शुभकामना व्यक्त गर्न चाहन्छ। चाहना हुँदाहुँदै पनि यसपटक आफैं उपस्थित हुन नसकेकोमा क्षमाप्रार्थी छानाटक हेर्नुहुने सम्पूर्ण दर्शकले योगमायाको सङ्‌घर्षलाई केवल इतिहासका रुपमा मात्र नभई आजको समाजसँग जोडेर हेर्नुहुनेछ र नाटकले दिन खोजेको सन्देशलाई हृदय‌ङ्गम गर्नुहुनेछ भन्ने आशा राखेकी छु। नीलम कार्की निहारिका लेखक योगमाया उपन्यास
02

Director's Note

कला साहित्यमा पोखराको बलियो उपस्थिति छ । यो सहरले मलाई तेह्र पटक बोलाएको रहेछ ! एघार पटक त म विभिन्न समुहसँग नाटक नै लिएर आएको रहेछु । यो पटक भने जिम्मेवारीले बढि थिचिएको छ। कला सौन्दर्य चेतमा पोखरासँग मलाई जहिल्यै डर लाग्छ। पोखरेली दर्शकका लोकप्रिय कृतिमा नाटक तयार गर्नु परिरहेको छ। कथा नयाँ हैन । भोगाइ नयाँ हैन । न्यायपुर्ण राज्यको माग जहिल्यै रहिरहन्छ, योगमायाले राणा शासनका बेला उठाएको आवाज अहिले पनि विभिन्न रुपमा उठिरहेकै छन् विभिन्न माध्यमबाट अनि विभिन्न स्वरुपमा । कलाका माध्यमबाट हामीले गर्ने यहि हो तर शासकहरु हाम्रा कला कृतिहरुमा 'इन्योज' गर्छन् चेत्दैनन् । सुधारकालागि पहल समेत गर्दैनन् । योगमाया काठमाडौंमा मञ्चन हुँदा धेरै नेताहरु हेर्न आए । रमाए। कलाले तर समाजको अवस्था राणाकालीन समयदेखि अहिलेसम्म उस्तै छ। काठमाडौं राजधानीमा सान्दर्भिक ठानेर यो कृति रोजेको थिएँ । पोखराले यसलाई सान्दर्भिक ठान्छ कि ठान्दैन डर यसमा हो मलाई। अहिलेको समयमा आत्मदाहका घटना बढिरहेका छन्, मतलब समस्या ज्यूँकात्यूँ छ। काठमाडौंको यो आवाज पोखरेलीको आवाज बनिदियो भने हाम्रो अभियानले सार्थकता पाउने छ। यो अभियानका सारथी हुन् परिवर्तन, हामी उनलाई साथ दिन आइपुगेका छौं । आकाँक्षा कलाकार भन्दा धेरै माथि हुनुहुन्छ । यो अभियानमा जोडिने सबै कलाकारलाई मनैदेखि धन्यवाद ।
03

People Behind the Play